प्रहरीले अनावश्यक दुःख दिएको गुनासो

काठमाण्डु टुडे २०७० चैत १५ गते ७:३६ मा प्रकाशित

दमक, १५ चैत – झापाका होटल व्यवसायीहरुले प्रहरीले अनावश्यक रुपमा होटलमा दुःख दिने गरेको आरोप लगाएका छन् ।

बेश्यावृत्तिको अभियोगमा दमकका विभिन्न होटलबाट १७ जनालाई प्रहरीले पक्राउ गरेपछि होटल व्यवसायी सङ्घले विरोध जनाएको हो ।
होटल व्यवसायी सङ्घ क्षेत्रीय समिति दमकले आज पत्रकार सम्मेलन गर्दै प्रहरीले होटल व्यवसायीहरुलाई अनेक बहानामा दुःख दिने गरेको आरोप लगायो ।

सङ्घका अध्यक्ष गङ्गा सिटौलाले होटलहरुमा बेश्यावृत्ति गर्न छुट नभए पनि प्रहरीले अनेक आरोप लगाई होटल सञ्चालकलाई फसाउन खोजेको गुनासो गरे ।

‘बेश्यावृत्तिमा संलग्न भएको भन्दै सबै ग्राहकलाई पक्राउ गर्ने नियत देखिएको छ,’ उनले भने । होटलहमा यौनजन्य क्रियाकलाप गरिएको पाइए त्यस्ता होटललाई सङ्घको सदस्य नरहने गरी कारबाही गर्ने सिटौलाको दावी छ ।

एक साताअघि प्रहरीले दमकका दुई वटा होटलमा छापा मारी १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

यसैबीच सङ्घले वरिष्ठ उपाध्यक्ष राजन दङ्गालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रकाश बस्नेत, इन्द्र लिम्बू, राधा राई र दिपेन लामा रहेका छन् ।

झापाको कन्काइमाई पश्चिमका ३०० होटल व्यवसायी सङ्घमा आबद्ध छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us