
काठमाण्डु, २० माघ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेका छन् । उनीहरुले संवैधानिक आयोगमा गरिएको सिफारिसप्रति लिखित असहमति राख्दै बैठक बहिस्कार गरेका हुन् ।
सिफारिस भएका विभिन्न पाँच संवैधानिक आयोगका प्रमुखमाथि उजुरी आह्वान गर्ने विषयमा छलफल गर्न बोलाइएको सुनुवाई समितिको बैठक बहिस्कार गरेका हुन् ।
संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताबिनै सरकारले आयोगहरुमा नियुक्तिको सिफारिस गरेको भन्दै कांग्रेसले उक्त निर्णयको कागजात सुनुवाइ समितिले छानबिन गर्नुपर्ने माग गरेको छ ।
आइतबारको बैठकमा संवैधानिक आयोगमा सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान गर्ने विषयमा छलफल सुरु भएपछि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताविना भएको निर्णय मान्य नभएको बताए ।
‘प्रतिपक्षीको अस्तित्वलाई सरकारले स्वीकार गर्नुपर्छ, संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपषी दलको नेताको असहभागितामा निर्णय भएको छ । यसमा असन्तुष्टि भएको छ । त्यसको कागजात मगाएर हेरौं’ उनले बैठकमा भने ।
तर सभापति लक्ष्मणलाल कर्णले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने त्यसबीचमा छलफल गर्न सकिने बताए ।
त्यसपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरु कार्की, जीतेन्द्र देव, पुष्पा भुसाल लिखित असहमति बुझाएर बैठकबाट बाहिरिएका हुन् ।