
काठमाण्डू, ७ असार– बाढीका कारण ठाउँठाउँमा पहिरो खसेपछि नारायणगढ–बुटवल सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
बाढीले शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको विनयी खोलास्थित अस्थायी डाइभर्सन बगाएको थियो । गत पुसमा ओभर लोड गरिएको भारतीय ट्रकका कारण पुल भत्किएपछि सो स्थानमा डाइभर्सन बनाएर सडक सुचारु गराइएको थियो ।
त्यसयता पटकपटक बाढीले डाइभर्सन भत्काउँदै आएको छ । सो स्थानमा पुल नबन्दासम्म यातायात सुचारु हुन नसक्ने स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बैठकले मर्मतको काम भइरहेकाले सम्पन्न नहुँदासम्म यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
निर्णयमा ठूला गाडीलाई पूर्ण रुपमा रोक लगाउने र हल्ला सवारी साधन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अनिश्चितकालका लागि रोक लगाइएको उल्लेख छ ।