
काठमाण्डु, १४ चैत– एकीकृत माओवादीले १० वर्षे सशस्त्र जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई दिन बाँकी राहत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
पूर्वपदाधिकारी सम्मिलित केन्द्रीय कार्यालयको शुक्रबारको बैठकले तत्काल राहत उपलब्ध गराउन माग गरेको अध्यक्ष प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।
खड्काले राहत रकम तत्काल उपलब्ध नगराइए सदन र सडक आन्दोलनमा उत्रने बताए । यस्तै बैठकले जनयुद्धकालीन
स्थानीय सत्ताले रोल्पा, रुकुम, सल्यान र जाजरकोटलगायत जिल्लामा गरेका घरजग्गा पाससम्बन्धी कामलाई वैधता दिने प्रक्रिया अघि बढाउन पनि सरकारलाई भनेको छ ।
अन्यथा सरोकारवाला पक्षलाई समेत सँगै लिएर कडा आन्दोलनमा उत्रने निष्कर्ष माओवादीले निकालेको छ । द्वन्द्वकालमा स्थानीय सत्तामार्फत भएका घरजग्गा पासलाई वैधता दिन प्रक्रिया अघि बढाउनेबारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनका आधारमा निर्णय लिनुपर्ने भनाइ माओवादीको छ ।
‘पार्टी अध्यक्षले पटकपटक स्थानीय सत्ताले गरेका घरजग्गा पास र राहत उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानको पहल भएन’, खड्काले भने, ‘ तत्काल माग पूरा नभए ती दुई विषयलाई लिएर सम्वद्ध सबै पक्षको साथ लिएर सडक र सनदमार्फत सशक्त आन्दोलन गर्छौं ।’