बैतडी, १४ चैत – बैतडी भटना गाविसमा २७ जना दलित परिवारले एउटै आरनबाट गुजारा चलाउँदै आएका छन् ।
पुर्खौैंदेखि चलिआएको आरन उद्योगलाई नयाँ पुस्ताले समेत रोजगारीको माध्यम बनाएका छन् । भटना–१ भिताडी गाउँमा बसोबास गर्ने २७ दलित परिवारले आरन उद्योगबाट विभिन्न धातुका भाँडावर्तन निर्माण गर्दै दैनिक गुजारा चलाएका हुन् ।
बाजेको पालादेखि नै सञ्चालनमा रहेको आरनबाट पछिल्लो समयमा परिवार पाल्न भने गाह्रो भएको स्थानीय चक्र लुहारले बताए । तामा, फलामजस्ता धातुका विभिन्न सामग्री निर्माण गरेर स्थानीय ठाउँमा बिक्री गर्ने र केही भाँडाकुँडा दैनिक ज्यालादारीमा निर्माण हुने लुहारको भनाई छ ।
कुवाँकोट र भटना गाविसका छवटा गाउँका कृषकका लागि दैनिक ज्यालादारीमा काम गर्दा न्यून पारिश्रमिक पाइने भएका कारण आफूहरु अप्ठेरोमा पर्दै गएको रघो लुहारले भने ।
पछिल्लो समय परिवारको आकार बढ्दै जाँदा आरनबाट गुजारा चलाउन समस्या हुने भएकाले युवाहरु भारतमा ज्यालादारी गर्न जाने गरेको उनले बताए । सबै जनाको साझा आरनमा काम गर्न भने रमाइलो हुने भए पनि आर्थिक हिसाबले सङ्कटमा परिरहेकोमा उनी दुखी छन् ।