भैँसी खेल्ने तालमा विद्यालय बनेपछि…

काठमाण्डु टुडे २०७० चैत १३ गते ९:२७ मा प्रकाशित

नुवाकोट, १३ चैत । ‘हामी सानो हुँदा यहाँ भैँसी खोल्ने ताल थियो, हामी पनि बेलाबेलामा आएर खेल्थ्यौँ, अहिले विद्यालय चलेको देख्दा अत्यन्त खुसी लागेको छ ।’ स्थानीय समाजसेवी दासलाल श्रेष्ठसँग आफ्नो तीन दशक अगाडिको बाल्यकालको सम्झनामा ताजै छ ।

दासलालहरु सानो छँदा खानीगाउँमा विद्यालय थिएन । अहिले जस्तो सडक बाटो पनि थिएन । गाउँदेखि सदरमुकाम विदुरस्थितको भैरवी माविमा पैदल गएर पढ्नुपरेको थियो । भैरवी उमाविमा वर्तमान परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका बालसखा दासलाल आफ्नो जन्मगाउँमा शिक्षा र सामाजिक विकास गराउन लागि परेका छन् । उनको यो सोचमा साथ दिन उनका छोरा पूर्णलाल श्रेष्ठ (श्री सम्पन्न इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष) पनि सँगै जुटेका छन् । श्रेष्ठ परिवारकै समन्वयबाट अहिले खानीगाउँको महालक्ष्मी प्राथमिक विद्यालय हराभरा हुन थालेको छ । खानीगाउँ अर्थमन्त्री डा रामशरण महतको क्षेत्र (नुवाकोट २) अन्तर्गत पर्छ ।

सामुदायिक विद्यालयलाई सरकार, स्थानीय समुदाय र अभिभावकले पनि आवश्यक चासो नदिएका बेला खानीगाउँको सो विद्यालयमा जापानीको मुख्य सहयोग र स्थानीय जनश्रमदानमा नयाँ भवन बनेपछि विद्यालयप्रति आकर्षण थपिएको छ ।

विद्यालयको नवनिर्मित भवनको उद्घाटनका क्षणमा आफूले तीन दशक अगाडि बाल्यकालमा गाउँमा पढ्न नपाएको अवस्था स्मरण गर्दै ढिकुरेका पुराना कपडा व्यवसायी तथा समाजसेवी दासलालले भने, ‘आफू जन्मेको ठाउँमा प्रगति भएको देख्दा जसलाई पनि खुसी लाग्दोरहेछ ।’

एसिया फेन्डसिप नेटवर्क, जापानको प्रमुख सहयोगमा महालक्ष्मी प्राथमिक विद्यालयको नवनिर्मित सो भवनको बुधबार आयोजित कार्यक्रममा नेटवर्कका अध्यक्ष इसिमारो योजुरीले उद्घाटन गरे । उनले बालबालिकाले पढ्न पाउने वातावरणका लागि भवन निर्माणमा सहयोग गरिएको बताए । उनले आफ्नी छोरी कलिलो उमेरमा बितेपछि आफू नेपालका विद्यालय र बालबालिकाको सेवामा दुई दशकदेखि लागिपरेको जानकारी दिए । उनले विद्यार्थीलाई स्टेसनरी र खाजा बाकस पनि प्रदान गरे ।

महालक्ष्मी प्राविमा नेटवर्कको १५ लाख र अन्य स्थानीय सहयोग गरी २१ लाखमा दुई तलाको छ कोठे पक्की भवन बनेको विद्यालयका प्रधानाध्यापक भीमप्रसाद लामिछानेले जानकारी दिए । भवन निर्माणका लागि दासलालको परिवारले मात्रै सिमेन्ट र अन्य रकम गरी करिब दुई लाख सहयोग गरेको छ । विसं २०४० मा मा स्थापित सो विद्यालयको पुरानो भवन जीर्ण भइसकेको छ ।

विद्यालयमा सहयोग गर्नुपर्ने दायित्व बोेकेको जिल्ला शिक्षा कार्यालयबाट विदेशी सहयोगमा निर्मित विद्यालय उद्घाटनमा कुनै पनि प्रतिनिधि उपस्थित भएका थिएनन् । प्रवेशिका परीक्षा सञ्चालन भइरहेको र केन्द्रबाट शिक्षा विभागका निर्देशक अनुगमनका लागि जिल्ला आएकाले कार्यक्रममा आफू जान नसके पनि स्थानीयस्तर र जापानीको सहयोगमा विद्यालय भवन बन्नुलाई शुभकार्य ठान्नुपर्ने जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्कीले प्रतिक्रिया दिए ।

हाल विद्यालयमा ५६ विद्यार्थी अध्ययनरत छन् । निजी स्रोतसहित गरी पाँच शिक्षक कार्यरत छन् । भवन निर्माण भएपछि स्थानीय अभिभावक र विद्यार्थी हर्षित देखिएका छन् । केही वर्षयता विद्यार्थी घट्दै गएको अवस्थामा नयाँ भवनपछि विद्यार्थी बढ्ने अनुमान गरिएको छ । भवन निर्माणसँगै पुस्तकालय स्थापना, कम्प्युटर कक्षा सञ्चालन र अङ्ग्रेजी माध्यमबाट पढाइ गर्ने प्रधानाध्यापक लामिछानेले बताए ।

मगर बस्ती बढी रहेको सो गाउँमा सबै अभिभावकले निजी विद्यालयमा भर्ना गर्ने क्रम रोकी सामुदायिक विद्यालयमा नियमित रुपमा आफ्ना विद्यार्थीलाई विद्यालय पठाइदिएमा गुणस्तर बढ्ने विश्वास व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर घलेको छ । खानीगाउँ गाविसका पूर्वअध्यक्ष निर्मल श्रेष्ठले भवन निर्माणसँगै अब यहाँको शैक्षिक विकासमा योगदान मिलेको बताए ।

नेटवर्कका एसिया प्रतिनिधि गणेशमान लामाका अनुसार सो नेटवर्कले नेपालमा हालसम्म करिब ८० वटा सामुदायिक विद्यालय भवन निर्माणमा सहयोग गरिसकेको छ । सो संस्थाले नुवाकोटका गाउँखर्क, भद्रुटार, बट्टार, वागेश्वरी, कविलासलगायत गाविसमा गरी एक दर्जन विद्यालय भवन निर्माणमा प्रमुख दातृ निकायका लागि कार्य गरिरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us