प्रधानमन्त्रीले सपथ नखाँदै गठबन्धन चिरा !

काठमाण्डु टुडे २०७० माघ २७ गते १४:१८ मा प्रकाशित

Kp-oli-and-Shushil-KOiralaकाठमाण्डु, २७ माघ – कांग्रस एमाले लगायतका संसदमा प्रतिनिधित्व गर्ने दुई ठुला दल र अरु साना दलको समर्थनमा कांग्रेस सभापति सुशील कोइराला नेपालको ३७ औं प्रधानमन्त्री निर्वाचित भए ।

तर कोइरालाले प्रधानमन्त्रीको सपथ ग्रहण नगर्दै वर्तमान सत्ता गठबन्धनमा भने धर्मराउन थालेको देखिएको छ । त्यसो त संसदको बैठकमै एमाले संसदीय दलको नेता केपी ओलीले त्यसको संकेत गरिसकेका थिए ।

ओलीले संसद बैठकमा भनेका थिए, ‘सरकारले खोलो तर्यो लौरो बिर्सियो भने हामी चुप लागेर बस्दैनौं, हामी दलीय स्वार्थलाई केन्द्र भागमा राखेर चलेका छैनौं, देशको हित र जनताका आकांक्षालाई केन्द्र भागमा राखेर चलिरहेका छौं । ती आकांक्षाभन्दा गाउँखाने कथामा भने झैं खै खै दाई म जाउँ भनियो भने नेकपा मालेले खबरदारी गर्छ, ताली मात्र बजाउँदैन ।’

त्यसो त ओलीले सांकेतिक रुपमा प्रधानमन्त्री कोइरालालाई चेतावनी दिइरहेका थिए । संसद बैठक अघि नै कांग्रेस एमालेबीच शक्ति बाँडफाँटका विषयमा विवाद भएकाले ओलीले संसदमा कोइरालालाई चेतावनी दिएको स्रोतले काठमाण्डु टुडेलाई बतायो ।

स्रोतका अनुसार कोइरालाले सोमबार विहान एमाले नेताहरुलाई फोन गरेर गृह मन्त्रालय दिन नसकिने बताएका थिए । कोइरालाले रातारात बोली फेरेको भन्दै रुष्ट ओलीले संसद बैठकमा तीतो पोखेको स्रोतको भनाइ छ ।

‘सहमति गरि हालियो, अब पछाडि फर्कने अवस्था छैन भनेर नै एमाले नेताहरु संसद बैठकमा गएका हुन्,’ स्रोतले भन्यो, ‘कांग्रेसले अन्तिम समयमा धोका दिएको बुझेर नै ओलीले संसदमा प्रधानमन्त्रीलाई चेतावनीपूर्ण भाषा बोलेका हुन् ।’

सरकारको नेतृत्व गर्ने गर्ने दलले नै गृह र अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयल नपाए सरकार सञ्चालनमा अप्ठेरो हुने बुझेर नै प्रधानमन्त्री कोइरालाले एमालेलाई गृह मन्त्रालय नदिने बताएको स्रोत भनाइ छ ।

यसअघि एमाले उपाध्यक्ष वामदेव गौमत उपप्रधान र गृहमन्त्री बन्ने चर्चा चलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us