श्रीमानको हत्या गर्ने आमाछोरा पक्राउ

काठमाण्डु टुडे २०७० माघ १७ गते १:५४ मा प्रकाशित

विराटनगर, १७ माघ – छोरासँग मिलेर श्रीमानको हत्या गरी फरार भएका आमाछोरालाई मोरङ प्रहरीले बिहीबार पक्राउ गरी यहाँ सार्वजनिक गरेको छ ।

विराटनगर–१ वेलगाछी टोलका ३५ वर्षीया सुशीला कामत र १७ वर्षीय विवेक कामतलाई जिल्ला प्रहरी कार्यालयमा बिहीबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

घरायसी विवादमा सुशीला र विवेकले ४० वर्षीय तेजु कामतलाई बुधबार राति ८ बजे काठको पिर्काले हिर्काएर हत्या गरेका थिए । तेजुको हत्या गरेपछि फरार भएका आमाछोरालाई दिउँसो पक्राउ गरेको मोरङका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

यसैबीच, पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको दुलारीमा बिहीबार दिउँसो भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मौवा–४ की ५१ वर्षीया उमा खड्का रहेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us