
काठमाण्डु, १५ पुस– पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफले आफूमाथि लगाईएको बदनियतपूर्ण भएको बताएका छन् । पूर्व सेनाप्रमुख समेत रहेका उनले पाकिस्तानी सेनाको ईच्छा अनुसार नै आफूले काम गरेको दावी गरेका छन् ।
फ्रान्सेली समाचार संस्था एएफपीलाई दिएको अन्तरवार्तामा मुसर्रफले आफूमाथि लगाइएको आरोपले पाकिस्तानी सेना असन्तुष्ट रहेको जिकीर समेत गरे । मलाई ‘लगाइएको घोखाधडीको आरोप दुश्मनीको भावनाले प्रेरित छ,’ उनले भनेका छन्, ‘मैले जे गरेको छु, सेनाको इच्छा अनुसार नै गरेको छु ।’
पाकिस्तानका पूर्व राष्ट्रपतिलाई गत बैशाखमा उनकै घरमा नजरबन्द गरिए यता कुनै पनि अन्तराष्ट्रय समाचार संस्थामा मुसर्रफको प्रतिकृया आएको यो पहिलोपटक हो । मुसर्रमाथि गैरसंवैधानिक कार्य गरेर देशमाथि गद्दारी गरेको आरोपमा सुनुवाई हुदै आएको छ । विशेष अदालतले उनीमाथि जनवरी १ तारिख आरोप पत्र दर्ता गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
मुसर्रफमाथि सन् २००७ मा देशको संविधान विपरित संकटकालको घोषणा गरेर गद्दारी गरेको आरोप लागेको छ । पाकिस्तानको संविधानको धारा ६ उलंघनको आरोप अन्तरगत मुसर्रफमाथि आरोप तय गर्न लागिएको छ । पाकिस्तानको संविधानको धारा ६ को उलंघन गरेको सावित भए जन्मकैद वा मृत्युदण्डसम्म हुन सक्ने प्रावधान छ ।
मुसर्रफमाथि कारवाही गरिए सरकार र सेनाबीचको सम्बन्ध बिग्रिने आशंका विशेषज्ञहरुले गरेका छन् । पाकिस्तानी सेना मुसर्रफमाथि कारवाहीको विरोधमा रहेको अनुमान गरिएको छ । आफूमाथि कारवाहीको विरोधमा सम्पूर्ण सेनाले आफूलाई साथ दिने विश्वास मुसर्रफले गरेका छन् ।