साना, २८ मंसिर– अमेरिकी चालकरहित विमानको कडा आलोचना भइरहेको यस बखतमा यमनमा पुनः बिहीबार चालकरहित विमान आक्रमण भएको छ । उक्त जानकारी चिकित्सक र प्रहरी स्रोतले शुक्रबार दिएका छन् ।
बिहीबार गरिएको सो आक्रमण विवाहको जन्ती बोकेको एक गाडीलाई लक्ष्यगरी गरिएको प्रहरी स्रोतले जनाएको छ । यमनको मध्य सहर रड्डाआनजिकै संदिग्ध अलकायदा सदस्यहरूलाई लक्षितगरी गरिएको जनाइएको छ । तर केही व्यक्ति बाहेक सबै सर्वसाधारण रहेका र ती व्यक्तिहरूको अलकाउदा सञ्जालसँग कुनै सम्बन्ध नरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
रातभरी गरिएको दुईवटा क्षेप्यास्त्र आक्रमणमा १७ जनाको मृत्यु भएको चिकित्सकस्रोतले एएफपी समाचार समितिलाई बताएको छ । सो आक्रमणमा मारिएका मध्ये दुईजनाको परिचय खुलेको पनि सो स्रोतले प्रष्ट पारेको छ । विवाहका जन्तीको लागि लगिएका त्यस सवारीसाधनमा १० जना यात्रु रहेका बताइएको छ । अमेरिकी चालकरहित विमान आक्रमणबाट यसमा अल–कायदासँग आवद्ध दर्जनौँ आतङ्ककारीहरू मारिएका छन् ।
तर सो चालकरहित विमान आक्रमणबाट निर्दोष नागरिकको हत्या हुने भएको हुनाले नागरिक समाजलगायत सरकारपक्षले पनि यसको आलोचना गर्दै आएको छ । यमनमा भएको अमेरिका चालकरहित विमान आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या हालसम्म प्रष्ट नभएको र अनुमानित मात्र भएको पनि समाचारमा बताइएको छ ।
तर गत नोभेम्बरमा वासिङ्टनसँग आवद्ध ‘न्यु अमेरिकी फाउन्डेसन’ले गरेको एक अनुसन्धानको अनुमानित तथ्याङ्गअनुसार सन् २००२ यता यमनमा ९३ वटा हवाई आक्रमण भएका छन् । सो आक्रमणमा करिब ८९० व्यक्ति मारिएका अनुमान गरिएको थियो भने, तीमध्ये ६६ जना नागरिक रहेको उक्त फाउन्डेसनले जनाइएको थियो । एएफपी