
गौशाला, २३ मंसिर–महोत्तरीको बसविट्टीबाट अपहरणमा परेका एक व्यक्ति दुई दिनपछि अपहरणकारीको चङ्गुलबाट भाग्न सफल भएका छन् । जिल्लाको गैढाभेटपुर–४ बस्ने २५ वर्षीय गणेशप्रसाद यादव अपहरणकारीको चङ्गुलबाट शनिबार राति भाग्न सफल भएका इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक नेत्रबहादुर बरुवालले जानकारी दिए ।
अपहरणकारीहरुले यादवलाई भारत विहार राज्यको सीतामढी जिल्लाअन्तर्गत पर्ने सिरसिया गाउँस्थित शिवकुमार यादवको घरमा लुकाएर राखेको अवस्थामा शनिबार अबेर साँझ उनी घरको ढोका फोड्दै त्यहाँबाट भागेर सीतामढी जिल्लाको बेला थानामा गई ज्यान जोगाउन सफल भएका थिए । बेला थानाले अपहृत यादवको अनुरोधमा महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरलाई जानकारी गराएपछि प्रहरी निरीक्षक बरुवाल त्यहाँ पुगेर यादवलाई जिम्मा लिएको जनाइएको छ । अहिले यादव परिवारजनको सम्पर्कमा रहेका प्रहरी निरीक्षक बरुवालले सञ्चारकर्मीलाई जानकारी दिए ।
मंसिर २० गते बिहीबार बेलुका ७ बजे रामगोपालपुरबाट दुईजना साथीसँगै ज २ प २४७५ नम्बरको मोटरसाइकल चढी आफ्नो घर गैढाभेटपुर आउँदै गर्दा यादव बसविट्टी–९ बाट अपहरणमा परेका थिए ।