कार्यकर्ता पक्राउको विरोधमा एमाओवादी आन्दोलित

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ३:४० मा प्रकाशित

chitwan mapचितवन, २३ मंसिर– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा आफ्ना पार्टीका कार्यकर्ता पर्शुराम पौडेललाई प्रहरीले पक्राउ गरेको विरोधमा एमाओवादीले आन्दोलन थालेको छ । पौडेललाई तत्काल रिहाइको माग गर्दै आन्दोलन थालेको चितवन जिल्ला ईन्चार्ज घनश्याम दाहालले जानकारी दिए । दाहालका अनुसार अपरान्ह ३ बजेदेखि ४ बजेसम्म चितवनमा चक्काजाम गरिने छ ।

युद्धकालको घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत संबोधन गरिनुपर्नेमा जथाभावि कार्यकर्ता पक्राउ गरेर मुद्दा चलाउने काम भएको भन्दै एमाओवादीले आपत्ती जनाएको छ ।

पौडेललाई शुक्रवार साँझ भरतपुर नगरपालिका ९ स्थित निवासवाट प्रहरीले पक्राउ गरेको थियो । पौडेललाई अदालत पेश गर्ने प्रहरीको तयारी छ । पौडेल एमाओवादी निकट बुद्धिजिवी संगठनका जिल्ला सदस्य हुन् ।

छोरा कृष्णको हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै आमा गंगामाया र बुवा नन्दप्रसाद अधिकारी अनसन बसेका छन् । यसअघि भदौ २१ गते हत्या अनुसन्धान गर्न भन्दै प्रहरीले अभियुक्त राम प्रसाद अधिकारीलाई पक्राउ गरेपछि उनीहरुले अनसन तोडेका थिए । तर, अभियोग प्रमाणित नभएपछि प्रहरीले रामप्रसादलाई रिहा गरेको थियो । उनी रिहा भएपछि कृष्णका आमा–बुवाले फेरि अनसन जारी राखेका छन् ।

गोरखाको फुजेल गाविस ७ का कृष्णप्रसाद अधिकारीलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते चितवनको रत्ननगर नगरपालिका १ बकुल्लहरबाट अपहरण गरी गोली हानी हत्या गरेका थिए । कृष्णका दाजु नुर प्रसाद अधिकारीले रामप्रसाद, पर्शुराम पौडेललगायत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us