आफूले बधाई दिएका विपक्षीले क्षुद्र आरोप लगाएको प्रदीप ज्ञवालीको भावुक टिप्पणी

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १०:५८ मा प्रकाशित

Pradip-Gyawaliकाठमाण्डु– एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीले आफूले हार स्वीकार गरी जित्नेलाई अविर लगाइदिएर आएपनि विपक्षीहरुले क्षुद्र आरोप लगाएको बताएका छन् ।

दोस्रो संविधानसभा चुनावमा गुल्मी–२ बाट काँग्रेसका चन्द्र भण्डारीसँग पराजित हुन पुगेका नेता ज्ञवालीले एक अनूभूति लेख्दै विपक्षीहरुले आफूलाई मर्माहत पार्ने क्षुद्र चुनावी राजनीति गरेको बताएका हुन् । काठमाण्डुमा तीन वटा घर भएको, गुल्मीबाट भागेको र छोराछोरीलाई विदेशमा पढाएको भन्ने विपक्षीहरुले आरोप लगाउँदै कु–प्रचार गरेकोमा दुःख मनाउ गरेका छन् ।

एक वेवसाइटमा प्रकाशित उनको भावुक अनुभूतिमा पार्टीका जिम्मेवार सहयोगी ‘हर्ट अट्याक’बाट गम्भीर अवस्थामा पुगेकाले तुरुन्त हेलिकप्टर मगाई आफू पनि सोही हेलिकप्टरमा आएको विषयलाई लिएर काँग्रेसका नेता–कार्यकर्ताले ‘हारपछि प्रदीप ज्ञवाली गुल्मीबाट भाग्यो’ भन्ने हल्ला गरेको ज्ञवालीले बताएका छन् ।

नेता ज्ञवादीको अनुभूतिमा लेखिएको छ, ‘काठमाडौं जानुपूर्व म कांग्रेसका चन्द्र भण्डारीलाई भेट्न र बधाई दिन चाहन्थें । उनको फोन लगातार व्यस्त भइरहृयो । बल्लबल्ल भेटिए, सापकोटा होटेल अगाडि भेटेर उनलाई अबिर टीका लगाइदिएँ र बधाइ दिएँ । गोकर्ण बिष्ट साथमै हुनुहुन्थ्यो । त्यतिञ्ज्याल चिदिचौरमा हेलिकोप्टर ल्याण्ड गरिसकेको थियो र स्ट्रेचरमा बिमारी ल्याइसकिएको थियो । बिमारीलाई सुरक्षितसाथ चढाएपछि म पनि उडें । पछि थाहा पाएँ- विजयको उन्मादमा साथीहरूले नारा लगाउन र प्रदीप ज्ञवाली भाग्यो भन्न पनि भ्याएछन् । अमानवीयताको यो पराकाष्ठालाई के पो जवाफ दिन सकिन्छ र !’

उनले अगाडि लेखेका छन्, ‘जन्मैदेखि मस्तिष्क पक्षाघातले थला परेकी क्षितिजले त बाबाको जय या पराजयका बारेमा के नै पो थाहा पाउँथी र १ तैपनि, धेरै दिनपछि मेरो काखमा बस्न पाउँदा खुसी देखिई । पटक-पटक घरमा आएका र मेरो पारिवारिक स्थिति थाहा पाएका प्रतिष्पर्धी साथीहरूले यस्तो बिषयमा समेत क्षुद्र चुनावी राजनीति गर्न भ्याएछन्- प्रदीप ज्ञवालीका काठमाडौंमा तीनवटा बिल्डिङ छन् र उसका छोराछोरी विदेशका महङ्गा कलेजमा डाक्टरी पढ्छन् भनेर ।’

चुनावमा पराजित भएपछि प्रतिकुल परिणामको जवाफदेही आफै भएको र उम्मेदवारको रुपमा आफैमा कमी भएको बताउँदै आएका नेता ज्ञवालीले विपक्षीका टिप्पणीविरुद्ध क्षुद्र चुनावी राजनीति गरेको भन्दै भावुक अनुभुति लेखेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us