लगानीकर्ता सक्रिय हुँदा बढ्यो सेयर कारोबार, नेप्सेमा सामान्य सुधार

काठमाण्डु टुडे २०८३ साउन ८ गते १८:५९ मा प्रकाशित

काठमाण्डु– सेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्दा साताको अन्तिम कारोबार दिन शुक्रबार कारोबार रकम ६ अर्ब रुपैयाँ नाघेको छ ।

कारोबार रकम बढे पनि नेप्से परिसूचकमा भने सामान्य वृद्धि भएको छ ।

शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७३४।६३ विन्दुमा बन्द भयो ।

अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

यस दिन ३५३ वटा धितोपत्रको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १५२ वटाको सेयर मूल्य बढेको छ भने १०९ वटाको घटेको छ। यस्तै १५ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन ।

शुक्रबार एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६५१ रुपैयाँ १० पैसा पुगेको छ ।

आत्मनिर्भर लघुवित्तको मूल्य पनि १४.४६ प्रतिशतले बढ्दै प्रतिकित्ता ६ हजार ६५९ रुपैयाँ कायम भएको छ ।

 सानिमा बैंक डिबेन्चरको मूल्यमा  १० प्रतिशत गिरावट आएको छ ।

यसको मूल्य ८.९२ प्रतिशतले घटेर प्रतिडिबेन्चर १ हजार १०० रुपैयाँ ५० पैसा पुगेको छ । कर्पोरेट डेभलपमेन्टको मूल्य पनि ७.३८ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ३३३ रुपैयाँ ८० पैसा कायम भएको छ ।

कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । प्रतिकित्ता ३७० रुपैयाँ रहेको यसको मूल्य अघिल्लो दिनको तुलनामा २.१४ प्रतिशत घटेको हो ।

एनआरएन इन्फ्रास्ट्रक्चर दोस्रो धेरै कारोबार हुने कम्पनी बनेको छ । उक्त कम्पनीको २७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समूहगत परिसूचकतर्फ शुक्रबार १३ मध्ये ७ समूह बढेका छन् भने ६ समूह घटेका छन् ।

बैंकिङ समूह सबैभन्दा धेरै १.१७ प्रतिशतले उकालो लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us