बालुवाटारमा प्रदर्शनपछि पक्राउ परेका बिनु र निहारिका हाजिरी जमानीमा छुटे

काठमाण्डु टुडे २०८३ साउन ८ गते १८:३१ मा प्रकाशित

काठमाण्डु– प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शनका क्रममा बिहीबार पक्राउ परेका अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतलाई रिहा भएका छन

प्रहरीले शुक्रबार उनीहरुलाई हाजिरी जमानीमा छाडेको हो । उनीहरुलाई प्रहरी वृत्त मालिगाउँको हिरासतमा राखिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्टराईका अनुसार दुवै जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्ध कसुरको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । अनुसन्धान जारी रहेकाले आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनीहरूलाई हाजिरी जमानीमा छाडिएको उनले बताए ।

बिहीबार निषेधित क्षेत्र बालुवाटारमा प्रदर्शन गर्न पुगेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनका क्रममा हुलहुज्जत भएको भन्दै प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

पक्राउ परेकै दिन उनीहरूलाई काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको भए पनि प्रारम्भिक अनुसन्धानपछि हिरासतमा राखिरहन आवश्यक नदेखिएकाले हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

बिनु यादवले केही समयदेखि आफ्नो बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धान निष्पक्ष नभएको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गर्दै आएकी छन् । यही विषयमा गृहमन्त्रीसँग भेटेर आफ्नो गुनासो राख्न चाहेको भन्दै उनी यसअघि सिंहदरबारमा धर्नासमेत बसेकी थिइन् । त्यही क्रममा गतसाता प्रहरीले उनलाई निर्मम तरिकाले लछारपछार गरेको थियो । मागको सुनुवाइ नभएको भन्दै उनी बालुवाटार पुगेकी थिइन् ।

निहारिका राजपुतले पनि आफूमाथि भएको हिंसाका विषयमा सरकारको ध्यानाकर्षण गराउन र गृहमन्त्रीसँग भेटेर न्यायको माग राख्न खोजेको बताउँदै आएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us