काठमाण्डु– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीहरूको अवैध प्रवेश तथा सीमापार कानुनी क्षेत्राधिकारको अभाव नेपाल–भारत सीमाको सुरक्षाका प्रमुख चुनौती बनेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका क्रममा नेपाल प्रहरीले सामना गरिरहेका चुनौतीबारे जानकारी गराए ।
कार्कीका अनुसार पछिल्लो समय रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ ।
नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोबास गर्ने प्रयास गर्ने रोहिङ्ग्यासहित अन्य विदेशी नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको उनले बताए । पक्राउ परेकामध्ये केही लागुऔषध कारोबारलगायत आपराधिक गतिविधिमा संलग्न रहेको कार्कीको भनाइ छ ।
उनले दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका केही नेपाली नागरिक भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी पनि दिए ।
उनीहरूको रिहाइका लागि ‘पुलिस टु पुलिस’ समन्वय र कूटनीतिक पहलमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको तथा कानुनी प्रक्रिया पूरा भएपछि उनीहरू रिहा हुने अपेक्षा गरिएको उनले बताए ।
महानिरीक्षक कार्कीले सीमापार क्षेत्रमा हुने चोरीजस्ता मुद्दाको अनुसन्धानमा बाह्य क्षेत्राधिकारको अभावका कारण अनुसन्धान प्रभावित हुने गरेको उल्लेख गरे ।
उनका अनुसार खुला सीमाका कारण अवैध हातहतियार ओसारपसार, लागुऔषध तस्करी, अन्तरदेशीय संगठित अपराध, साइबर ठगी, अनलाइन स्क्यामिङ, मानव बेचबिखन, अवैध वैदेशिक रोजगारी, बैंकिङ ठगी तथा अनलाइन सट्टेबाजीजस्ता गतिविधि बढ्दो चुनौतीका रूपमा छन् ।
यी चुनौती नियन्त्रणका लागि नेपाल प्रहरीले नियमित गस्ती, निगरानी र संयुक्त सुरक्षा अभियान सञ्चालन गर्नुका साथै ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाइरहेको उनले बताए ।
उनले वैदेशिक रोजगारीको प्रलोभनमा हुने ठगी तथा ओटिपीमार्फत हुने बैंकिङ फ्रडका कारण सर्वसाधारणले अर्बौं रुपैयाँ गुमाइरहेको पनि उल्लेख गरे ।
साथै, श्रम स्वीकृति नलिई खुला सीमाको प्रयोग गर्दै भारत हुँदै तेस्रो मुलुक जाने प्रवृत्तिले मानव तस्करीको जोखिम थप बढाएको उनको भनाइ छ ।