हिमाचलमा गुडिरहेको जिपमाथि पहिरो खस्यो, १३ जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ साउन ८ गते १८:५३ मा प्रकाशित

काठमाण्डु– भारतको हिमाचल प्रदेशमा शुक्रबार गुडिरहेको जिपमाथि पहिरो खस्दा १३ जनाको ज्यान गएको छ ।

पांगी र लाहौल–स्पिती जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने कडु नालामा पहिरोले यात्रु सवार जिप पुरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उदयपुर–किलाड सडकखण्ड हुँदै कुल्लुबाट पांगी गइरहेको टाटा सुमो जिप कडु नाला नजिकै अचानक खसेको पहिरोमा परेको थियो ।

पहिरोसँगै खसेका ठूला ढुंगाले जिपलाई पुरेको र त्यसमा रहेका १३ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लाहौल–स्पितीकी प्रहरी अधिकृत शिवानी मेहलाले दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेकी छन् । घटनामा दुई जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री सुखुले घटनाबारे जानकारी पाएलगत्तै लाहौल–स्पितीका उपायुक्तसँग छलफल गरी उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिएको बताए ।

उनले घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएको पनि उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us