काठमाण्डु–गृहमन्त्री सुधन गुरुङले आफू सीमा क्षेत्रको अनुगमनमा जाँदा ‘स्टण्टबाजी’ को संज्ञा दिइएको भन्दै अब शैली परिवर्तन गर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ खिने क्रममा गुरुङले सीमा क्षेत्रमा आफूले गरेको निरीक्षण भ्रमणलाई कतिपयले ‘स्टन्ट’ को रूपमा टिप्पणी गर्ने गरेको भन्दै आपत्ति जनाए ।
अबदेखि गृहमन्त्री स्वयं सीमामा पुग्ने अभ्यासको सट्टा विशेष कार्यदलअन्तर्गतका सादा पोशाकका प्रहरी अनुगमनमा खटाउने तयारी भएको उनले बताए ।
उनका अनुसार गृहमन्त्री सीमामा पुग्दा सुरक्षा घेरा, औपचारिक कार्यक्रम र भीडभाडका कारण वास्तविक अवस्था बुझ्न कठिन हुने गरेको छ ।
त्यसैले सादा पोशाकमा खटिने टोलीले स्थानीय नागरिकका समस्या, सीमा नाकाको गतिविधि र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्ने उनको भनाइ छ ।
फरक प्रसंगमा गृहमन्त्री गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिमलाई गृह मन्त्रालयको विशेष प्राथमिकतामा राखिएको पनि बताए ।
ती क्षेत्रका नागरिकले लामो समयदेखि दुःख भोग्दै आएको उल्लेख गर्दै अब उनीहरूको पीडामाथि राजनीति नभई समाधानमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।
सरकारले आफ्ना कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै सीमा सुरक्षा सुदृढ बनाउन अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाइने बताए ।