काठमाण्डू, ४ साउन– किलियन एम्बाप्पे सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेपछि दुईपटक विश्वकप गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्न सफल भएका छन ।
फ्रान्सका फरवार्ड एम्बाप्पेले आठ खेलमा १० गोल गर्दै लियोनल मेस्सीलाई पछि पारेर उत्कृष्ट प्रतिस्पर्धाका बीच यो उपाधि जितेका हुन् । यसअघि कतार २०२२ विश्वकपमा आठ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका एम्बाप्पेले लगातार दुई विश्वकपमा गोल्डेन बुट जित्ने कीर्तिमान कायम गरेका छन् ।
२७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि विश्वकपको एउटै संस्करणमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बने ।
एउटै विश्वकप संस्करणमा एम्बाप्पेभन्दा बढी गोल गर्ने खेलाडी केवल दुई जना मात्र छन्– सन् १९५८ मा फ्रान्सका जस्ट फन्टेनले १३ गोल गरेका थिए भने सन् १९५४ मा हंगेरीका सान्दोर कोचिसले ११ गोल गरेका थिए ।
एम्बाप्पे अहिले पुरुष विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले विश्वकपमा कुल २२ गोल गरेका छन्, जुन लियोनल मेस्सीको भन्दा एक गोल बढी हो ।