काठमाण्डू, ५ साउन– काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन ।
प्रहरीका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको उनका श्रीमान्ले फेला पारेका थिए । घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्याएका थिए ।
त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको एसपी भट्टराईले जानकारी दिएका छन । गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ ।
उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।