सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैनः नेकपा

काठमाण्डु टुडे २०८३ असार ३१ गते १४:०६ मा प्रकाशित

काठमाण्डू, ३१ असार– प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश नबन्ने भन्दै राज्यका संयन्त्र र संस्थाहरूलाई बलियो बनाउनुपर्ने बताएको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा आफ्नो धारणा राख्दै पार्टीका सांसद महेन्द्रबहादुर शाहीले यस्तो बताएका हुन ।

उनले राजनीतिक दल र नेतृत्वले क्षणिक प्रचारबाजीभन्दा जनताका वास्तविक र दीर्घकालीन आवश्यकता पूरा गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने पनि बताएका छन । सांसद शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिका सन्दर्भमा सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका यस्ता गम्भीर विषयमा सरकार संसद्मा मौन बस्न नमिल्ने भन्दै उनले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे । सरकारले यस विषयमा स्पष्ट नपारेसम्म प्रतिपक्षको तर्फबाट विरोध जारी रहने पनि बताएका छन ।

बैठकमा बोल्दै सांसद शाहीले नेपाली राजनीतिको मूल मुद्दा विकास र समृद्धि हुनुपर्नेमा अचेल सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधि हाबी भएको बताए । ‘जनताले भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय खोजेका छन्,’ उनले भने, ‘तर आज हाम्रा मूल मुद्दाहरू ओझेलमा परेर सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा ध्यान केन्द्रित भएको छ। यस्ता गतिविधिले देश बन्दैन, बरु बर्बादीको दिशामा लैजान्छ ।’

उनले सरकारले काम गरेर जवाफ दिनुपर्नेमा प्रचारबाजी, फन्डा र काँचो काम गरिरहेको आरोप लगाए । यसले जनतामा सरकारप्रति आशा होइन, अविश्वास मात्र पैदा गरिरहेको पनि उनले बताए । सांसद शाहीले लोकतन्त्रमा व्यक्ति अस्थायी र राज्यका संस्थाहरू स्थायी हुने बताए ।

‘पाँच वर्षका लागि चुनिएर आउने व्यक्ति अस्थायी हो, तर राज्य र यसका संस्थाहरू स्थायी हुन्,’ उनले भने, ‘त्यसैले व्यक्ति होइन, संस्था बलियो हुनुपर्छ। राज्य संयन्त्र कमजोर पारेर व्यक्ति बलियो बन्ने र नागरिकमा डर–त्रास सिर्जना गर्ने शैलीले लोकतन्त्र बलियो हुँदैन।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us