विश्वकपमा ६४ टोली विस्तार गर्ने सम्भावनाबारे छलफल गर्दै फिफा

काठमाण्डु टुडे २०८३ असार २९ गते १३:३७ मा प्रकाशित

काठमाण्डू, २९ असार– फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्‍याउने सम्भावनाबारे छलफल गर्ने भएको छ ।

विश्वकपको दायरा अझ व्यापक बनाउने विषयमा सम्बन्धित समितिहरूमा छलफल हुने सक्ने संकेत फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गरेका छन । स्विस सञ्चारमाध्यम ब्लुविनसँगको अन्तर्वार्तामा इन्फान्टिनोले ४८ टोलीबाट ६४ टोलीमा विस्तार गर्नु उपयुक्त हुन सक्ने बताएका छन ।

उनले भने, ‘यो निश्चित रूपमा यस्तो विषय हो, जसबारे यस विश्वकपपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुनेछ ।’

इन्फान्टिनोका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र होइन, सम्पूर्ण विश्वलाई प्रतिनिधित्व गराउनु आवश्यक हुन्छ । उनले भने, ‘विश्वकप आयोजना गर्दा सम्पूर्ण विश्वका लागि आयोजना गर्नुपर्छ । हरेक राष्ट्रले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ ।’

उनले विश्वभरका टोलीहरूको स्तर निरन्तर उकासिँदै गएको उल्लेख गर्दै साना राष्ट्रलाई अवसर नदिए उनीहरूको विकासको प्रेरणा नै हराउने बताएका छन । उनले भनेका छन, ‘तपाईंले देख्न सक्नुहुन्छ, टोलीहरूको स्तर अत्यन्त उच्च छ र विश्वभर अझ उच्च हुँदै गएको छ ।

यदि साना देशलाई विश्वकप खेल्ने अवसर दिइएन भने उनीहरूले अझ राम्रो बन्ने प्रेरणा गुमाउनेछन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us