काठमाण्डू, ४ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन सुझाव सङ्कलन कार्यदलप्रति टिप्पणी गर्दै कार्यदलको कुरा नसुनी आफ्ना धारणा खुलस्त रूपमा राख्न सहभागीहरूलाई अनुरोध गरेका छन ।कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुझाव सङ्कलन कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
उनले कार्यदललाई पार्टीको यथार्थ अवस्था बुझ्न पठाइएको समेत बताए । उनले सहभागीहरूलाई कुनै सङ्कोच नराखी आफ्ना विचार र सुझाव राख्न अनुरोध समेत गरे । उनले भने, ‘पार्टीले उहाँहरूलाई ग्राउन्ड रियालिटी बुझेर आउन भनेर पठाएको हो, उहाँहरूका कुरा सुन्न आवश्यक छैन, खुलेर आफ्ना कुरा राख्नुहोला’, ओलीले भने ।
कार्यक्रममा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु गर्ने उपयुक्त समय नभएको समेत बताएका छन । उनले नेतृत्वको विकल्प खोज्ने बेमौसमी बहसले पार्टीलाई कमजोर बनाउने दाबी गर्दै पार्टी एकतामा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिए ।
‘नेतृत्व परिवर्तनको बेमौसमी बहस सुरु गरेर पार्टी कमजोर बनाउने खेलमा कोही पनि लाग्नु हुँदैन । पार्टीलाई एकताबद्ध बनाउन सबै नेता–कार्यकर्ता लाग्नुहोस् । समय आएपछि नेतृत्वको बहस गरौँला’, उनले भने ।
अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्व महाधिवेशनबाटै बिदा हुने परम्परा रहेको उल्लेख गर्दै आफूले महाधिवेशनको निर्णयबाहेक अन्य कुनै परिस्थितिमा नेतृत्व नछाड्ने अडान दोहोर्याए । पछिल्लो समय पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र भावी नेतृत्वबारे बहस चलिरहेका बेला ओलीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।