चिया निर्यातसम्बन्धी समस्या तत्काल सम्बोधन गरियोस्ः सांसद राई

काठमाण्डु टुडे २०८३ असार १ गते १५:४० मा प्रकाशित

काठमाण्डू, १ असार– प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन । आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेकी हुन ।

उनले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएको सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद राईले भारतसँग निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरू बन्द हुने अवस्था पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्नुपर्ने समेत बताएकी छन । उनले भनिन्, ‘नेपालमा चियाँ उद्योग बन्द हुने अवस्थामा छ ।

१२ लाख किलो भन्दा बढी चियाँ भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्थामा छ । पटक९पटक भारतले क्वालिटी टेस्ट गर्ने भनेर लैजाने, फेरि १५, २० दिनसम्म नगर्ने अनि यस्तो अप्ठयारो बनाइरहने, यतिबेला उत्पादन भएको चिया पनि नष्ट हुने अवस्था हुँदाहुँदै अहिले यो स्थितिमा गुज्रिरहेको छ ।’

उनले अगाडि भनिन्, ‘सबैभन्दा पहिले भारत सरकारसँग यो व्यापारको बारेमा डाइलग होस् । र भारतमात्रै होइन, अरू देशहरूसँग पनि चिया मात्रै नभएर किसानका उत्पादनहरू पनि बिक्री गर्ने विकल्पहरू खोजियोस् । किसानको उत्पादनको बजारको सुनिश्चित गरियोस् । उनीहरूलाई आत्मनिर्भर बनाउने काम गरियोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us