काठमाण्डू, १ आसर– भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ भनेको अभिव्यक्ति यति बेला निकै विवादमा परेको छ ।
सोमबारपृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि पूर्वआईजीजीपी चन्द्रकुवेर खापुङले समेत उक्त अभिव्यक्तिको टिप्पणी गरेका छन ।
ईकान्तिपुरले हालेको भिडियोमा पूर्वआईजीपी खापुङले कमेन्ट गरेका छन्, ‘कानून बमोजिम नै त होला नि मन्त्री ज्यूको आदेश ।’ पूर्वआईजीपी खापुङले खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि त्यसलाई व्यङ्ग्य गर्दै कानून सम्झाउन खोजेको देखिन्छ ।
पूर्वआईजीपीको कमेन्टमा १०० जना भन्दा बढीले लाइक समेत गरेका छन् । मन्त्री लम्सालले बोलेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू । घर पठाउने हैन ।
फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन,’ लम्सालले आइतबार भनेका थिए । उनी आइतबार नागढुंगा–मुग्लिन सडकखण्ड बिस्तारको प्रगति बुझ्न धादिङ गएका थिए । त्यसक्रममा उनले पूर्वी खण्ड (नौबिसे–मलेखु खण्ड) अनुगमनको क्रममा घाटबेसीमा सो अभिव्यक्ति दिएका हुन् ।