परराष्ट्रमन्त्री खनालको चीनको भ्रमणको औपचारिक तालिका सार्वजनिक

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १४:५७ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालले आउँदो आइतबारदेखि चार दिनसम्म चीन भ्रमण गर्ने औपचारिक तालिका सार्वजनिक गरीएको छ ।

चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ गतेदेखि असार ३ गतेसम्म भ्रमण गर्ने तयारी रहेको परराष्ट्रमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउने बताइएको छ । सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन्।

त्यसैगरी, मन्त्री खनालको सम्मानमा नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुनेछन्। कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us