काठमाण्डू, ११ वैशाख– सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई हटाउन बल प्रयोग नगर्ने बताएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा एवं युवा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरीको बल प्रयोग गरेर सुकुमवासी बस्ती खाली नगर्ने स्पष्ट पारेका छन ।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले यसबारे प्रष्ट पारेका हुन । उनले भने, ‘जबरजस्ती प्रहरीको बल प्रयोग गरे डोजर लगाउने योजना सरकारको छैन ।
हामीले उहाँहरूलाई सेफ ठाउँमा त्यताबाट सार्न सरकारले काम अघि बढाएको हो ।’ पार्टीको वाचापत्रमा भएका कुरा, कार्ययोजनामा भएको कुरा र निर्णयमा प्रतिबद्ध रहेको पनि उनले बताए ।
‘वास्तवमा तीनवटा सुकुमवासी बस्ती जहाँ विगतमा बाढी आउँथ्यो,’ पोखरेलले भने, ‘बाढी आएपछि ज्यान बचाउन भाग्नुपर्ने अवस्था यसअघि विभिन्न वर्षमा आएका थिए ।
देशका सबै ठाउँका सुकुमवासीको दीर्घकालीन समाधान गरिने भन्दै उनले सुकुमवासीमाथि विगतमा हुने गरेको राजनीति अब नहुने धारणा उनले राखे ।
पोखरेलले प्रारम्भिक चरणमा बाढीको जोखिम रहेका उपत्काका तीन वटा सुकुमवासी बस्ती हटाइने र सुरक्षित स्थानमा राखिने पनि जानकारी दिएका छन ।