ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौंः प्रधानमन्त्री बालेन

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते १८:०४ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले वास्तविक सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन अनुरोध गरेका छन ।

आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले वास्तविक सुकुमवासीलाई चाँडो जग्गा वितरण गर्ने पनि बताएका छन् । उनले भनेका छन, ‘देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं, ‘वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।’

साथै, उनले वर्षाको बेलामा हुनसक्ने दुर्घटना आउनुअघि नै सचेत हुनका लागि यो काम भएको बताएका छन् । ‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैं गरिरहने ?,’ बालेनले प्रश्न गरेका छन् । साथै, उनले सुकुमवासीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बताए ।

‘उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौंदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नू ?’ बालेनले प्रश्न गरेका छन्, ‘नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो ?

पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो ।’ सरकारले काठमाण्डूका विभिन्न सुकुमवासी बस्ती खाली गराउँदैछ । भोलिबाट खाली गराउन तयारी अघि बढिरहँदा यसबारे विभिन्न प्रश्न पनि उठेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us