काठमाण्डू, ११ वैशाख– प्रहरीले एटीएम तोडफोड गर्ने एक व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ क्यानखोलाका २१ वर्षीय सविन नेपाली रहेका छन ।
नेपालीलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो । गत ९ वैशाखमा न्यूरोडस्थित रामघाट गल्लीमा एक व्यक्तिलाई कुटपिट गर्दै लुटपाट समेत गरेका थिए ।
१० वैशाखमा गोंगबु चाकेमा रहेको ग्लोबल आईएमई बैंकको एटीएम तोडफोड गरेको आरोप उनीमाथि छ । यसअघि उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चली २ महिना बाल सुधार गृह बसेको पाइएको छ ।
चोरीको कसुरमा गत २२ साउनमा प्रहरी वृत्त जनसेवाले पक्राउ गरी अनुसन्धान गरेका बेला जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।