काठमाण्डू, ११ वैशाख– प्रहरीले थापाथलीको सुकुमवासी बस्ती क्षेत्रमा सीसीटीभी जडान कार्य सुरु गरेको छ । बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान कार्य सुरु गरीएको हो ।
सुरक्षाका लागि सीसीटीभी जडान गर्न लागिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको जानकारी दिएका छन ।
‘काठमाण्डूलाई सुरक्षित राख्ने उद्देश्यअनुसार सीसीटीभी जडान हाम्रो नियमित कार्यक्रम हो । प्राविधिक टोलीले आज थापाथली क्षेत्रमा जडान गर्दैछ,’ उनले भने ।
सुकुमवासी बस्ती हटाउन सरकारले डोजर प्रयोग गर्ने तयारी गरेको, त्यसविरुद्ध केही युवाहरु भेला भएर सरकारविरुद्ध प्रदर्शन गरेका बेला सीसीटीभी जडान गर्न लागेको देखेर कतिपयले चासो व्यक्त गरेका छन् ।
तर प्रहरीले नियमित कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा सीसीटीभी जडान भइरहेको र सोही अनुसार आज थापाथलीमा पालो परेको जनाएको छ ।