काठमाण्डू, १४ चैत– कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ । नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने भएको हो ।
जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र लेखकलाई पक्राउ गरेकोबारे प्रारम्भिक धारणासमेत सार्वजनिक नगरेको कांग्रेसले ‘संसदीय सचेतना’ कार्यक्रममा समीक्षा गर्ने एक पदाधिकारीले जानकारी दिएका छन ।
‘आज पार्टी कार्यालयमा ‘संसदीय सचेतना’ कार्यक्रम छ । त्यहाँ हामीहरूको भेट हुन्छ,’ उनले भने, ‘समग्र स्थितिको समीक्षा गरेर धारणा सार्वजनिक गर्छौं ।’
कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन नवनिर्वाचित सांसदहरूका लागि शनिबार बिहान ११ बजेबाट ‘संसदीय सचेतना’ कार्यक्रम सुरू गर्दै छ ।
कांग्रेसका नेताहरूले ओली–लेखकको पक्राउबारे प्रतिक्रया दिन मानेका छैनन् । स्रोतका अनुसार घटनाको बुझाइबारे कांग्रेसमा मतभिन्नता छ । त्यसलाई एकरूपता दिन उनीहरूले प्रतिक्रिया दिन नमानेका स्रोतको भनाइ छ ।
नवगठित सरकारले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा ओली र लेखकलाई शनिबार बिहानै पक्राउ गरेको छ ।