काठमामाण्डू, १४ चैत- काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङको लिखित आदेशपछि प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा लेखकलाई शनिबार बिहान प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
त्यसअघि गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीसँग मन्त्रालय र नक्सालस्थित प्रहरी महानिरीक्षकको निवासमा रातभर छलफल गरेका थिए ।
महानिरीक्षक कार्कीले लिखित आदेशपछि मात्र पक्राउ गर्न सकिने अडान लिएपछि गृहमन्त्री सुधन गुरुङले लेखेर दिएका थिए ।
२३ र २४ भदौको नवयुवा आन्दोलनको दमन तथा लुटपाट र विध्वंशबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित उच्चस्तरी छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसहितलाई निशस्त्र प्रदर्शनकारीमाथि गोली चलाएर हत्या गरेको आरोपमा तीनदेखि १० वर्षसम्म जेल सजाय गर्न सिफारिस गरेको थियो ।
सरकारले लुकाए पनि सार्वजनिक सञ्चार माध्यमले प्रकाशित गरेपछि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्न निर्देशक दिएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले छानबिन आयोगको प्रतिवेदन तत्काल कार्यान्यवन गर्ने निर्णय गरेको थियो ।