काठमाण्डू, १४ चैत– पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा बाक्लो संख्यामा प्रहरीको टोली पुगेको छ ।
भक्तपुरको गुण्डुस्थित निवासमा रातभर कार्यकर्ता र नेताहरु जम्मा भएका थिए । अहिले प्रहरीको टोली कागजपत्रसहित गुण्डु पुगेको हो । ओली निवासमा रहेकी एमाले नेतृ रामकुमारी झांक्रीका अनुसार, प्रहरी कागजातसहित पुगेको छ । त्यस्तै, निवास बाहिर बाक्लो संख्यामा कार्यकर्ताहरू पनि पुगेका छन् ।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरिरहेका थिए । प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।
मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।