काठमाण्डू, ८ फागुन– एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षीलाई कटाक्ष गर्दै व्यंगात्मक शैलीमा अभिव्यक्ति दिने नेताको रूपमा परिचित छन ।
उनी प्रायस् विपक्षीविरूद्ध कडा शब्दमा आलोचना गर्दै निर्धक्कसँग आफ्ना मनमा लागेका कुराहरू सार्वजनिक मञ्चमा अभिव्यक्त गरिरहेका हुन्छन् ।
सार्वजनिक समारोहहरूमा ओली जति आक्रमक सुनिन्छन्, उत्तिकै आत्मविश्वासी पनि देखिन्छन् । नेपाली राजनीतिका लागि एमाले अध्यक्ष ओली र उखान टुक्का त एकअर्काका परिपूरक नै हुन् भन्दा पनि अतियोक्ति नहुन सक्छ । व्यंग, कटाक्ष र हास्य प्रयोग गरेर विपक्षीमाथि आत्मविश्वासका साथ आक्रामक शैलीमा प्रत्यक्ष प्रहार गर्ने छवि भएका उनै ओली बिहीबार भने शान्त र शालीन सुनिए ।
आसन्न निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिकका लागि नयाँ बानेश्वरको तारे होटल एभरेष्टमा आयोजित समारोहमा उनी न विपक्षीविरूद्ध आक्रामक सुनिए, न उनले उखान टुक्का नै प्रयोग गरे । निर्धारित समयभन्दा एक घण्टा ४५ मिनेट ढिलो गरी सुरू भएको चुनावी घोषणा पत्र सार्वजनिक समारोहमा पूर्वप्रधानमन्त्री ओली शान्त सुनिए ।
सात जना युवा उम्मेदवारलाई बायाँ र छ जना उम्मेदवारलाई दायाँ राखेर उभिएका उनी केही गम्भीर पनि देखिए । उनले जेनजी आन्दोलनलाई संविधान र समग्र व्यवस्थामाथिको धावा भने पनि आक्रोशित भने सुनिएनन् । चुनावी घोषणा पत्र सार्वजनिक गरेर उनले लिखित मन्तव्य दिन सुरू गरे ।
मन्तव्यको सुरूवातमा प्रजातन्त्रको शुभकामना दिएका ओलीले राष्ट्रियता र लोकतन्त्र दुबैको सम्झना गराउने भएकाले ७ फागुनलाई घोषणा पत्र सार्वजनिकको मिति तय गरेको जानकारी दिएका छन । प्रतिनिधि सभा निर्वाचन २०७९ को स्मरण गर्दै ओलीले तत्कालीन समयमा मुलुक राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको स्मरण गरे ।
‘मुलुकको राजनीति दुई ध्रुवमा विभाजित थियो। हामीले त्यतिबेला राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानको रक्षाका लागि, राजनीतिक स्थायित्व र जनउत्तरदायी शासन व्यवस्थाका लागि मत मागेका थियौं, ‘त्यस प्रतिकूल अवस्थामा पनि यहाँहरूले दिनुभएको साथ–समर्थन र दर्शाउनुभएको भरोसाप्रति हाम्रो पार्टी पुनस् हार्दिक आभार व्यक्त गर्दछु ।’
जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएका ओलीले २३ र २४ भदौ पनि मुलुकमा फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलिएको टिप्पणी गरे । उनले जेनजी आन्दोलनलाई संविधान र समग्र व्यवस्थामाथिको धावा भने पनि आक्रोशित भने सुनिएनन् ।
ओलीले भने, ‘स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरियो । आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी छ, भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ ।’
निर्वाचनको संघारमा आममतदाताले पुराना राजनीतिक दल र नेताहरूमाथि प्रश्न गरिरहँदा आफ्ना पनि केही प्रश्नहरू रहेका उनले बताए । त्यसक्रममा पूर्वप्रधानमन्त्री ओलीले चारवटा प्रश्न पनि गरे ।