काठमाण्डू, ६ फागुन– कांग्रेसका सभापति गगन थापाले अब नकाव लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताएका छन ।
आज (बुधबार) जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन । उनले भदौ २३ जसरी युवा पनि राज्यको गोलीले नमारिने समेत बताए ।
सभापति थापाले भने, ‘अब प्रश्न गर्दैगर्दा कुनै युवक भाद्र २३ को जस्तो राज्यको गोलीबाट मारिनुपर्दैन्, यो हाम्रो प्रतिज्ञा हो, ‘अब कसैले नकाव लगाएर सिंहदरबार जलाउन पाउँदैन् यो हाम्रो प्रतिज्ञा हो ।
हामी यस्तो नेपाल बनाउन चाहन्छौँ ।’ भदौ २३ र २४ गते सडकमा आएका युवाको भावना कांग्रेसले सम्बोधन गर्ने उनले बताए । ‘ती हाम्रै भाइभतिजा हुन् । जेनजी भनेको कहीँबाट आएको होइन हाम्रै हो,’ उनले भने,‘तिनले हामीलाई इन्कार गरेको होइन, हाम्रो शैली बदल भनेको हो ।’