
काठमाण्डू, ६ फागुन– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न सरकार कसले बनाउँछ भन्ने भन्दा पनि देश कसले बचाउँछ भन्ने रहेको बताएका छन ।
आज (बुधबार) कांग्रेसले जनकपुरको तिरहुँतियामा गरेको प्रतिज्ञासभामा पार्टीको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले यस्तो बताएका हुन ।
उनले अहिलेको मूल प्रश्न देश र व्यवस्था कसले बचाउँछ भन्ने रहेको पनि बताएका छन । उपसभापति शर्माले भने, ‘मूल प्रश्न देश कसले बचाउन सक्छ भन्ने हो । सरकार त जसले पनि बनाउँछ । जसले पनि चलाउँछ ।’ उनले कांग्रेस सुशासन स्थापित गर्नका लागि साझा सङ्कल्प तय गर्न गोलमेच सम्मेलन गर्न पनि तयार रहेको बताए ।
‘सुशासन स्थापित गर्ने साझा सङ्कल्प गरेर जाऊँ त्यसका लागि हामी गोलमेच गर्न तयार छौँ,’ शर्माले भने, ‘सोच र दृष्टिकोण साझा बनाउन छलफलका लागि हामी तयार छौँ ।’ उनले अहिले मुलुकमा दुई किसिमका विचारहरू रहेको भन्दै दुवै विचारको उपयुक्त नभएका बताए । ‘मुलुकमा दुई किसिमका कुरा आएका छन् ।
एउटा भदौ २३ अगाडि देशमा ठिकठाक थियो । अर्को भन्छ भ्रष्टाचार थिए, सबै बिग्रिएको थियो,’ शर्माले भने, ‘तर, हामी मध्यमार्गी सोच राख्छौँ ।’
जेनजीले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न नसके, अहिले जेनजीको नेतृत्वमा विद्रोह भएको र १० वर्षपछि अल्फाको नेतृत्वको विद्रोह हुने शर्माले बताए । आफू नबदलिए देश बदल्न नसकिने भन्दै कांग्रेसले विशेष महाधिवेशनबाट नेतृत्व बदलेको शर्माले बताए ।