सस्तो लोकप्रियताले देश बन्दैनः सचिन तिमल्सिना

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १२:५६ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– कांग्रेसका तर्फबाट काठमाण्डू– ४ बाट उम्मेदवार रहेका सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश नबन्ने बताएका छन ।

आज (बुधबार) काठमाण्डूमा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले आफूहरू स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको पनि बताएका छन ।

तिमल्सिनाले कांग्रेसले युवाहरूलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ (साझा भविष्यको सपना) निर्माणका लागि आएको स्पष्ट पनि पारे ।

उनले भने, ‘संसारभर विशेष गरी यो जुन पपुलिज्मको वेब आएको छ, यसले के गरिदिएको छ भने पपुलिज्मको वेबले त्यो जुन माइन्युट डिटेल्समा त्यो डिस्कसन त्यो संवाद हुनुपर्ने कुरामा वान लाइन सोलुसन जस्तो दिएर देशलाई नै गुमराहमा राख्ने उदाहरण हामीले संसारभर देखेका छौं, ‘त्यसले सत्ता प्राप्ति गर्छ किनभने त्यसले चाहिँ त्यो देश निर्माणको वाला प्रक्रियालाई कुनै आइडियासँग लडेर जोड्दैन ।

त्यसले के सँग लगेर जोड्छ भन्दा खेरि हाम्रो देश बन्थ्यो तर फलानोले गर्दा बनेन, हाम्रो देश बन्नुपर्थ्यो तर यो समूहले गर्दा बनेन । र त्यसको सबैभन्दा ठुलो सिकार मध्ये एउटा इन्टेलेक्चुअल कम्युनिटी हो ।’ तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूको विचार र कांग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताए ।

बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उनले अहिले सोसल मिडियामा गाली आउँछ भनेर नेतृत्वहरू डराउनु नहुने बताएका छन । उनले थप भने, ‘मलाई के लाग्छ भने अहिले यो देशलाई यहाँबाट सम्हाल्ने र बदल्ने त्यो जिम्मा मात्र होइन त्यो हक पनि नेपाली कांग्रेसलाई छ किनभने हामी तयार भएर आएका छौं ।

हिजो युवाहरूले प्रश्न सोधेका थिए, युवाहरूले प्रश्न सोधे सुशासन भएन, हामीलाई क्रेडिबिलिटीमा विश्वास लागेन । त्यत्रो आन्दोलन भयो तर हामीले त्यसलाई नकारेनौँ, त्यो जन-जीको आन्दोलनलाई हामीले आत्मसाथ गर्दै, त्यसको भावलाई आत्मसाथ गर्दै हाम्रो पार्टीलाई यत्रो ठुलो राजनीतिक जोखिम मोलेर रूपान्तरित गरेर लिएर आएका छौं ।’

काठमाण्डू– ४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै उनले अब आफू दुई नम्बरको अब्बल सांसद बनेर देखाउने पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us