स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सञ्चालन

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १२:२१ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको बताइएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । ओमनको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको थियो ।

आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएको पनि प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मी नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए ।

अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us