धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

काठमाण्डु टुडे २०८२ फागुन ५ गते १६:५५ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– धनकुटा सदरमुकाममा रहेको जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले लिएको छ । जिल्लामा रहेका प्रहरीहरू २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिँदा जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय धनकुटाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।

धनकुटास्थित भिमदल गणबाट खटिएको सेनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका थिए ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ । सोही निर्णय अनुसार धनकुटा कारागारमा पनि सेना तैनाथ गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us