काठमाण्डू, ५ फागुन– नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमबीच पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
कृषिमा संरक्षणको नीतिले ५ वर्षमा हामी कृषि उत्पादनमा आत्म निर्भर हुनसक्ने उल्लेख गर्दै उक्त कुराको जिम्मेवार राज्य बन्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ, ‘हाम्रा पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रशासन, कानून, राजनीतिलगायत सबै क्षेत्रलाई १० वर्षमा नेपाललाई उद्यमी राष्ट्र बनाउने ध्येयका साथ निर्देशित गर्नु पर्छ, आवश्यकताअनुसार पुनर्गठन गर्नु पर्छ ।’
५ वर्षभित्रै आपतकालीन सेवा, विषपान, सडक दुर्घटनाको व्यवस्थापन गर्न सकिने जनशक्ति र आपूर्ति भएको आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा नै व्यवस्था गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
‘आगामी १० वर्षमा ३० लाख पर्यटक भित्याउने र १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजना निर्माण गर्नु पर्छ, र यो सम्भव छ,’ घोषणापत्रमा भनिएको छ ।