यसपटक परिणाममा बदल्ने बेला आएको छः रवि

काठमाण्डु टुडे २०८२ फागुन ५ गते १३:४१ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन । आज (मंगलबार) चितवन–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन । उनले चितवनबाट भएको क्रान्तिलाई निर्णयमा बदल्नका लागि सोवितालाई उम्मेदवार बनाएको पनि बताएका छन । र, उक्त निर्णय सिंगो पार्टीको नै रहेको लामिछानेले बताए ।

सभापति लामिछानेले भने, ‘चितवन त्यस्तो ठाउँ जहाँबाट रगतको थोपो नबगी क्रान्तिको बिगुल फुक्यो । सोविता चितवनमा आउनका लागि ठूलो कारण छ । किनकी चितवनमा क्रान्ति छ, ‘त्यो क्रान्तिलाई निर्णयमा बदल्न सोविता चितवन आउन जरुरी थियो । सोवितालाई चितवनमा ल्याउने निर्णय सिंगो रास्वपाको हो ।’

सोविता एउटा नाममात्रै नभइ अहिलेको पुस्तालाई प्रेरणा दिने साहसी महिला भएको रविको भनाइ छ । उनले भने, ‘सोविता गौतम एउटा नाममात्रै होइन, यो पुस्तालाई प्रेरणा दिने साहसी महिला हो ।

सोवितालाई यहाँबाट उठाउनुपर्‍यो भन्ने ठाउँको कमी थिएन, सोविता सिंगो देशको छोरी भइन् त्यसकारण हामीले चितवन ल्यायौं । किनकी चितवनबाट एउटा सन्देश दिनुपर्ने थियो । ’ साथै, सम्बोधनको क्रममा लामिछानेले यसपटक मत बदल्ने बेला आएको पनि बताए । उनले भने, ‘यसपटक परिणाममा बदल्ने बेला आएको छ ।

जसरी अन्यायमा पर्दा तपाईंहरूले न्याय दिएर हुर्काउनुभयो । मेरो के नाता थियो र तपाईंहरूसँग, ‘आशिर्वाद दिनका लागि घरमा छोराछोरी नातीनातीना सबै थिए । तर यो छोरालाई जुन माया दिनुभयो ।

म कालकोठरीमा पर्दा आँशु बगाउनुभयो । अन्याय पर्‍यो भन्दा हस्ताक्षर गरिदिनुभयो । म ऋणि छु । कसरी तिर्छु थाहा छैन । म सँग बाँकी केही छैन, सत्य छ इमान छ । त्यसैको बलमा एकसे एक साथीहरूलाई संसद् लिएर जानेछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us