८४ को चुनावमा एकल बहुमत ल्याउँछौंः देउवा

काठमाण्डु टुडे २०८२ भदौ २ गते १८:१० मा प्रकाशित

काठमाण्डू, २ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी ०८४ सालको निर्वाचनमा पार्टीले एकल बहुमत ल्याएर सरकार बनाउने दाबी गरेका छन ।

आज (सोमबार) पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई अझ बढी क्रियाशील र गतिशील बनाउन निर्देशन समेत दिएका छन ।

उनले पार्टीभित्र बृहत् एकता कायम गर्दै आगामी चुनावमा कांग्रेसको बहुमतको स्थिर सरकार बनाउने दिशामा लाग्न समेत आग्रह गरेका छन । सभापति देउवाले समाजलाई विभाजित गर्ने प्रयासहरू भइरहेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुनुपर्ने बताए ।

सभापति देउवाले भने, ‘आगामी निर्वाचनमा बहुमत ल्याई नेपाली कांग्रेसको सरकार, स्थिर सरकार बनाउने तर्फ तपाईंहरू लाग्नुस्, ‘पार्टीलाई बलियो बनाउने जिम्मेवारी हामी सबैको काँधमा छ ।’ उनले पार्टीका सिद्धान्त र विचारलाई जनतामाझ पुर्‍याउन सबैले समर्पणका साथ मेहनत गर्नुपर्ने आवश्यक रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us