कोरियामा कोमा रहेका एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०८२ भदौ २ गते १५:०४ मा प्रकाशित

काठमाण्डू, २ भदौ– ंदक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी–५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिएका छन ।

एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र के कारणले अचेत भए भन्नेबारे उनको परिवार अनभिज्ञ थियो । अस्पतालमा निको हुने आशमा रहेको घर परिवार निधनको खबरले स्तब्ध बनेको छ ।

अचेत हुनुभन्दा एक महिना अगाडि नै उनले काम गर्दै आएको कम्पनी छोडेका थिए । त्यसपछि कामको खोजीमा छँदा कुनै सेल्टरमा बसिरहेको बेला यो घटना भएको हो । कोमामा रहेका बेला उनले हातखुट्टा अलिअलि चलाउने, आँखा झिमझिम गर्ने गरेका थिए । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले घटनाबारे जानकारी पाउनासाथ कमलको परिवारसँग सम्पर्क गरेको थियो ।

नेपाली दूतावासका अनुसार कम्पनी छोडेर सेल्टरमा बसिरहेको अवस्थामा बेहोस रहेका उनलाई प्रहरीले एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा उनको टाउकोमा रगत जमेको देखिएको थियो ।

उनको निधनपछि उनको उपचारमा लागेको १६ लाख रूपैयाँभन्दा बढी खर्च तिर्नुपर्ने देखिएको छ । त्यो रकम तिर्न सक्ने अवस्था चौधरीको परिवारसँग नरहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us