काठमाण्डू, २ भदौ– कैलालीको गोदावरी नगरपालिकामा एक जना बालकको नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको छ । आइतबारदेखि हराइरहेका गोदावरी नगरपालिकाका एक बालकको शव सोमबार बिहान खुटिया खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यलउ कैलालीले जानकारी दिएको छ ।
आइतबार दिउँसो घरमा खाना खाएर निस्किएका बालक साँझसम्म पनि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा उनी आफ्ना अन्य दुई साथीसँगै खुटिया खोलामा नुहाउन गएको खुलेको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, उनीसँगै नुहाउन गएका साथीले सोधपुछका क्रममा नुहाउने क्रममा साथी खोलामा हराएको बयान दिएका थिए ।
सोही बयानको आधारमा प्रहरीले खोजतलास गर्दा आइतबार राति नै बालकले लगाएको चप्पल खोला किनारमा फेला पारेको थियो। त्यसपश्चात, सोमबार बिहानैदेखि पुनः खोजी कार्य सुरु गर्दा उनको शव फेला परेको प्रहरीले जानकारी दियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।