भन्सुनका आधारमा हुने सरुवा विधेयकले रोक्न सकोस्ः प्रशासनमन्त्री न्यौपाने

काठमाण्डु टुडे २०८२ भदौ २ गते १४:०४ मा प्रकाशित

काठमाण्डू, २ भदौ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने तर्क गरेकी छन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताएकी हुन ।

मन्त्री न्यौपानेले भन्सुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘अब कर्मचारीको भन्सुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक महत्त्वपूर्ण हुन्छ ।

अनुमानको आधारमा सरुवा हुने कुरालाई व्यवस्थित गर्नुपर्छ ।’ उनले सरुवा—बढुवा प्रणालीलाई व्यवस्थित र अनुमान योग्य हुनेगरी विधेयकलाई समृद्ध बनाउन आग्रह समेत गरेकी छन । उनले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन तथा संघीयता कार्यान्वयनका लागि विधेयक महत्त्वपूर्ण दस्तावेज रहेको बताइन् ।

‘सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी हुने कुरामा हामीले सोच्न आवश्यक छ । खासगरी यसको उद्देश्य संघीयतालाई कार्यान्वयन गर्नको लागि महत्त्वपूर्ण हुनेछ,’ उनले भनिन् ।

प्रतिनिधिसभाबाट पास भइसकेको विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा विधेयकका १९३ वटा बुँदामा १६ वटा समूहमा सांसदहरूले संशोधन प्रस्ताव राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us