काठमाण्डू, २ भदौ– प्रहरीले राजविराज विमानस्थलबाट सोमबार ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेको प्रहरीले जानकारी दिएको छ ।
बुद्ध एयरको जहाजबाट राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले जाँचको क्रममा उनीसँग स्रोत नखुलेको साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद गरेको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।
उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ । बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन ।