काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने बताएका छन ।
आज (आइतबार) मुलुकी संहिता दिवस, २०८२ का अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका हुनुपर्ने पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘हामीले कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने काम गरिरहेको छ । धेरै विधेयकहरू संसद्को यसै अधिवेशनमा ल्याएका छौँ ।
यो शिलशिला अगाडि बढिरहन्छ, ‘हामी केवल राजनीतिक लोकतन्त्रमा मात्रै सीमित नभई परिपूर्ण लोकन्त्रका पक्षमा छौँ । यसमा कहीँ पनि असमानता, भेदभाव र थिचोमिचोका कुराहरूलाई मानिँदैन ।’
उनले अगाडि भने, ‘मुलुकी संहितामा देखिएका कमीकमजोरीलाई संशोधन गर्नुपर्छ तर यहाँ बहुविवाहलाई मान्यता दिन कानुन आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरू पनि छन् । यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न सकिन्न । त्यसकारण लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउँदैन ।
जनतालाई कसरी छिटो र सही न्याय दिने भन्नेमा हामी सबैको प्रयास हुनुपर्छ । सरकारका तर्फबाट यसमा पूराका पूरा साथ रहन्छ ।’ प्रधानमन्त्री ओलीले न्यायालयको स्वतन्त्र भूमिकालाई सम्मानसहित मान्ने कुरामा कार्यकारिणीका तर्फबाट पूरै साथ रहने स्पष्ट गर्दै तर सम्मान भनेको पञ्चायतकाली जस्तो जयजयकार मात्रै नहुने बताए ।