विष्णु पौडेलको रास्वपालक्षितको टिप्पणीः खहरे हुन्, आयु लामो छैन

काठमाण्डु टुडे २०८२ भदौ १ गते १६:०० मा प्रकाशित

काठमाण्डू, १ भदौ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिगामी शक्ति, रास्वपा र माओवादीले नेपालमा अस्थिरता चाहेको बताएका छन । उनले यस्ता राजनीतिक शक्तिहरूको अब नेपालमा भविष्य नरहने समेत तर्क गरेका छन ।

आज (आइबतार) नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले यस्तो बताएका हुन । उनले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरेको तर त्यसलाई जनताले विफल पारेको पनि बताएका छन ।

अर्थमन्त्री पौडलले भने, ‘प्रतिगामी शक्तिको रुपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसके । उनीहरू अहिले छिन्नभिन्न अवस्थामा छन्, ‘राजावादी कित्तामा लागेर व्यर्थमा जिन्दगीको समय नगुजार्न म आग्रह गर्दछु ।’ प्रतिगामीहरूले गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको ‘कुइनोले पहरो ठेले जस्तो’ मात्र भएको पनि उनले बताएका छन ।

उपप्रधानमन्त्री पौडेलले भविष्य नभएको दोस्रो शक्तिको रुपमा रास्वपालाई लक्षित गरे । ‘यसपालि मनसुन अलि ढिला सुरु भयो । त्यही भएर अहिले खहरे खोलाहरू बढेका छन् । तर मनसुन सकिएपछि ति खहरेमा कमिला कुद्छन्, ‘राजनीतिमा पनि खहरे देखिएका छन् । तिनीहरूको आयु लामो छैन ।’

उपप्रधानमन्त्री पौडेलले विरोधको राजनीति गरेर, जनतामा भ्रम छरेर यस्ता खहरेहरूले जनतालाई अलमलमा पार्न खोजेको तर जनताले उनीहरूको नियत थाहा पाएको बताए । उनले भने, ‘म युवाहरूलाई यस्तो खहरे राजनीतिको भेलमा नहेलिन आग्रह गर्दछु, ‘भूलभूलैयामा परेर जिन्दगीको महत्त्वपूर्ण समय कसैले पनि खेर नफाल्नुहोस् ।’

पौडेलले अस्थिरता चाहने तेस्रो शक्तिको रुपमा माओवादीलाई लक्षित गरे । ‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ । त्यो सधैं सरकार ढाल्छु भन्छ । सरकारलाई नै निशाना बनाउँछ,’ पौडेलले भने, ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले सरकार हाम्रो प्राथमिकता होइन भन्छ । त्यसैले यो शक्तिको भ्रमबाट जनता मुक्त हुनु पर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us