सामूहिक बलात्कार आरोपमा धनुषाका एक वकिल पक्राउ

काठमाण्डु टुडे २०८२ भदौ १ गते ११:५९ मा प्रकाशित

काठमाण्डू, १ भदौ– प्रहरीले सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक वकिललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय रहेको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। उनलाई शनिबार धनुषा ल्याइएको छ । आज धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने तयारी रहेको प्रहरीले जानकारी दिएको छ ।

अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलालाई सामूहिक बलात्कार गरेको प्रहरीमा जाहेरी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता दर्ता भएको छ । धनुषा प्रहरीका अनुसार घटना १२ माघ २०८१ को हो ।

बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहित ३ जनाको समूहले जबर्जस्ती करणी गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छन् । पीडितले त्यसबेला नै इलाका प्रहरी कार्यालय महानगरमा उजुरी दिंदा दर्ता भएको थिएन । पीडित पक्ष उच्च अदालतमार्फत परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us