काठमाण्डू, ३१ साउन– सहकारीको बचत अपचलन मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिएको छ ।
लामिछानेले दिएको कारागार सरुवाको निवेदनका आधारमा उनलाई प्रहरीले जहाजमार्फत भैरहवाबाट काठमाण्डू ल्याएर सीधै नख्खु कारागार लगेको हो ।
कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेको निवेदन सदर गरेको थियो । रुपन्देही कारागारमा उनले डिल्लीबजार कारागारमा सरुवा मागेका थिए । निवेदन दिएको लामो समयसम्म पनि कारागार सरुवा नगरेको भन्दै रास्वपाले संसदमार्फत समेत सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।
लामिछानेले गत जेठमै कारागार सरुवाका लागि निवेदन दिएका हुन् । रुपन्देही जिल्ला अदालतले गत १६ जेठमा उनलाई कारागार सरुवाका लागि अनुमति दिएको थियो ।
लामिछानेलाई नख्खु लगिनुअघि नै ठूलो संख्यामा रास्वपाका नेता कार्यकर्ता त्यहाँ जम्मा भएका थिए । उनले कार्यकर्तालाई प्रहरीको भ्यानबाटै हात उठाएर अभिवादन गरे ।
लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै कारागारबाहिर केहीबेर नाराबाजीसमेत भएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम गैरकानूनी रुपमा गोर्खा मिडिया नेटवर्कमा ल्याएको भन्दै सरकारले लामिछानेमाथि सहकारी ठगी मुद्धा दर्ता गराएको हो ।
उच्च अदालतको आदेशमा उनी गत २५ चैतदेखि रुपन्देही कारागारमा थिए । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालनि प्रबन्ध निर्देशक हुन् ।